FAQs Complain Problems

News

कुश्मा नगरपालिकाद्वारा आफ्नै Web-Portal निर्माण !

पर्वतको कुश्मा नगरपालिकाले अनलाईन वेभ पोर्टल प्रयोगमा ल्याएको छ । नगरभित्रका सबै फेहरिस्त एउटै माध्यमबाट जानकारी दिने गरि नगरपालिकाले पोर्टल निर्माण गरेको हो । आईतवार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पोर्टल सार्वजनिक गरे ।

पोर्टल लिंक 

कुश्माका सूचना प्रविधि अधिकृत राजिव रिमाल र कम्प्यूटर इन्जिनियर अनुप अधिकारी सहितका प्राविधिक टोलीले करिव ३ महिना लगाएर वेभ पोर्टल तयार गरेका हुन् । उनीहरुले तयार पारेको पोर्टललाई वडा नम्बर–७, बाट परिक्षणका रुपमा प्रयोग गरिएको थियो । उक्त वडामा परिक्षण पछि अहिले कुश्माका १४ वटै वडामा प्रयोग गरिने भएको छ । आइतबार पोर्टल सार्वजनिक गर्दै प्राविधिकहरुले अब कुनै नगरबासी पनि सार्वजनिक सूचना, विकासनिर्माण र अवसरबाट बञ्चित हुन नपर्ने बताए । ‘सामान्यतया सर्वसाधारणसंग जोडिएका सबैजसो विषय समेटिएको छ,’ सूचना प्रविधि अधिकृत राजिव रिमालले भने, ‘निकै जुक्ति लगाएर बनाएको साइट हो । यसले प्रविधिमैत्री शाषन सञ्चालनमा सहयोग पुग्ने अपेक्षा छ ।’

नगरपालिकाले प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्ने शिलशिलामा पोर्टल प्रयोगमा ल्याएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘ अहिले सबैको हातमा मोवाईल छ, घरघरमा ईण्टरनेट सुविधा छ । जोशीले भने,‘ नगरले गर्ने हरेक काम र नगरवासीहरुको हरेक अवस्था क्षणभरमै थाहा पाउन पोर्टल प्रभावकारी हुन्छ ।’ नगरबासीका आवश्यकता, समस्या, रोजगारी र बेरोजगारी समस्या, उत्पादन लगायतका सबै विषय समेटिने उनले बताए । अब नगरबासीले उत्पादन गरेका कृषि, हस्तकला तथा ससाना उद्योगका उत्पादनको बजारिकरण र आवश्यकताका सामाग्रि खोज्ने काम पनि यहि वेभसाइटबाटै गर्न मिल्ने नगरपालिकाले जनाएको छ ।

नगरभित्र कति घरधुरी छन् । रोजगारीको स्थीति कस्तो छ । कति बेराजगार छन् । प्रतिव्याक्ति आय कति छ । कतिजना किसान छन् । कतिले सरकारी र गैरसरकारी संस्थामा नोकरी गर्छन् । कुन परिवारका केटाकेटी सार्वजनिक र कुन परिवारका कति केटाकेटी नीजि विद्यालयमा अध्ययन गर्छन् । कस्का घरमा कति पशु चौपाय छन् । यस्ता ३४० वटा विषय पोर्टल भित्र समाबेश छन् । ति सबै प्रश्नमा नगरवासीहरुको उत्तर भरेर नगरपालिकामा सुरक्षित हुनेछ । सबै नागरिकले मोवाईलबाटै आफ्ना विवरण आँफै भर्ने सकिने पनि जनाइएको छ । त्यसबाहेक किसानले फलाएको अन्न, पालेका घरेलु जनावरको खरिदबिक्रि समेत यहिंबाट गर्न मिल्ने प्राविधिकहरुले बताए । ‘हरेक इन्डेस्कका लागि छुट्टाछुट्टै स्पेस छ,’ कम्प्यूटर इन्जिनियर अनुप अधिकारीले भने, ‘नया“ विषय थप भए स्पेस पनि बढाउन सकिन्छ ।’

यो पोर्टलका कारण कागजपत्रमा राख्नुपर्ने दस्तावेज बिस्थापित हुने वडा नम्बर –७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताए । ‘सबै बिबरण पोर्टलमा राखिने भएपछि कागजातको झण्झट रहेन,’ पौडेलले भने,‘ जन्म, मृत्यु, वसाईसराई लगायतका विवरण सबैले देख्ने गरि पोर्टलमै राखिन्छ ।’ नगरका सबैजसो बासिन्दाले स्मार्ट मोबाइल चलाउने भएकोले उनिहरुको मोबाइलमा यो सुविधा सहजै उपलव्ध हुने नगरपालिकाले जनाएको छ ।

अहिले पोर्टल वडा नं ७ का जनताले मात्र लग इन गरेर आफ्नो सम्पूर्ण विवरण तथा अन्य जानकारी लिन सक्नेछन  । 

Image: